काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटका क्रममा राजदूत चाङले प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढीपछि विपद् पूर्वसूचना र सीमापार सूचना आदानप्रदानको विषय थप चर्चामा आएको छ।
राजदूत चाङले मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। विशेषगरी सीमापारबाट उत्पन्न हुन सक्ने बाढी तथा अन्य प्राकृतिक विपद्बारे समयमै सूचना आदानप्रदान गर्न संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
उनका अनुसार विपद्का बेला तत्काल उद्धार तथा राहतका लागि नेपाल र चीनबीच सञ्चार, समन्वय र संस्थागत संयन्त्रलाई समेत मजबुत बनाउन आवश्यक छ। त्यसका लागि दुवै देशका सम्बन्धित निकायबीच नियमित समन्वय र प्राविधिक सहकार्य बढाउनुपर्ने उनले बताएका छन्।
राजदूत चाङले विपद् व्यवस्थापनमा जनशक्ति तालिम, प्राविधिक ज्ञान आदानप्रदान तथा आपत्कालीन राहत सामग्री व्यवस्थापनमा समेत सहकार्य बढाउन सकिने बताएका छन्। स्थानीय तहसम्मै विपद् रोकथाम, न्यूनीकरण र उद्धारको क्षमता विस्तार गर्नुपर्ने उनको जोड छ।
यसअघि रसुवामा आएको बाढीपछि चिनियाँ पक्षले नेपाललाई राहत तथा उद्धारमा सहयोग गर्दै आएको छ। चिनियाँ दूतावासले घटनापछि आपत्कालीन संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको थियो। चीनले खोज तथा उद्धार, क्षति मूल्यांकन र आगामी प्रतिकार्यमा नेपाली निकायसँग समन्वय गरिरहेको जनाएको छ।
नेपाल र चीन हिमाल तथा नदीले जोडिएका छिमेकी भएकाले प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा दुवै देशबीच सहकार्य थप आवश्यक रहेको राजदूत चाङको भनाइ छ। उनले नेपालको आवश्यकताअनुसार चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता पनि दोहोर्याएका छन्।