काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको असर नेपालको पर्यटन क्षेत्रमा पनि देखिएको छ। सन् २०२६ को अगस्ट महिनामा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। गत वर्षको अगस्टमा भने ८८ हजार ६८० जना पर्यटक नेपाल आएका थिए। यसअनुसार यस वर्ष अगस्टमा पर्यटक आगमन ३ हजार ३३६ अर्थात् ३.६ प्रतिशतले घटेको हो।
अगस्टको अन्तिम साता अर्थात् २६ अगस्टमा रसुवागढी नाका हुँदै आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। बाढीका कारण कैलाश मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा रहेका आन्तरिक तथा विदेशी पर्यटकसमेत प्रभावित भएका थिए।
बाढीपछि विभिन्न मुलुकले नेपाल यात्रासम्बन्धी चेतावनी जारी गरेकाले पनि विदेशी पर्यटक आगमनमा असर परेको पर्यटन क्षेत्रका जानकारहरूको बुझाइ छ।
अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३०.८७ प्रतिशत हो।
त्यस्तै, चीनबाट १० हजार ३०४, श्रीलंकाबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बंगलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन्।
चीनबाट आएको पर्यटक संख्या गत वर्षको अगस्टको तुलनामा ३६.७८ प्रतिशतले बढेको छ भने श्रीलंकाबाट आउने पर्यटकमा ४६.२४ प्रतिशत वृद्धि भएको छ।
समग्र पर्यटक आगमन घटे पनि केही मुलुकबाट आउने पर्यटकको संख्या भने उल्लेख्य रूपमा बढेको छ।
रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत बढी हो। युक्रेनबाट २१६ जना आएका छन् भने त्यहाँबाट आउने पर्यटक ८३.०५ प्रतिशतले बढेका छन्।
कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो। भुटानबाट १ हजार २८८, मलेसियाबाट १ हजार ६१८ र थाइल्यान्डबाट ६८१ जना पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा दक्षिण एसियाबाट सबैभन्दा धेरै ४१ हजार ४२२ जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५ र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक नेपाल आएका छन्।
बाढी तथा प्राकृतिक विपत्तिका कारण पर्यटन गन्तव्य र यातायात पूर्वाधारमा परेको असर तथा केही मुलुकले जारी गरेको यात्रा चेतावनीले आगामी महिनाको पर्यटक आगमनमा समेत प्रभाव पार्न सक्ने पर्यटन व्यवसायीहरूको चिन्ता छ।