काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा हालसम्मकै ठूलो रकमको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ५८३ बीमितले कुल २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी गरेका छन्।
यो रकम यसअघिका विपद्का घटनामा परेको बीमा दाबीभन्दा बढी हो। यसअघि जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा करिब साढे २३ अर्ब रुपैयाँको बीमा दाबी परेको थियो।
प्राधिकरणका अनुसार बाढीबाट ११ जलविद्युत् आयोजना, ६ हजारभन्दा बढी घर, विद्युत् प्रसारण लाइन, कृषि तथा पशुपालन क्षेत्र र बैंकका शाखा कार्यालयहरूमा समेत क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले आगामी दिनमा बीमा दाबीको रकम अझै बढ्ने अनुमान गरिएको छ।
बीमाको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत परेको छ। यस शीर्षकमा ५२ बीमितले २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।
त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ बीमितले २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ, मोटर बीमातर्फ ३१३ बीमितले १ अर्ब ५५ करोड रुपैयाँ तथा परिवहन बीमातर्फ ४७ बीमितले ८९ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी गरेका छन्।
अन्य बीमा शीर्षकमा ५४ बीमितले ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बीमातर्फ चार बीमितले ४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी गरेको प्राधिकरणले जनाएको छ।
कम्पनीगत रूपमा सबैभन्दा ठूलो दायित्व द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा देखिएको छ। उक्त कम्पनीमा आठ बीमितले मात्रै १३ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग दाबी गरेका छन्।
त्यसैगरी शिखर इन्स्योरेन्समा १२७ बीमितले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको दाबी गरेका छन्। बीमा भएका सम्पत्तिको क्षतिको विवरण संकलन हुने क्रम जारी रहेकाले कुल दाबी रकम अझै बढ्न सक्ने बीमा क्षेत्रका अधिकारीहरूको भनाइ छ।