सल्यान । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका सल्यानका २१ वर्षीय आयुष खड्काको पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बनेको छ। रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमा खरिदार पदमा कार्यरत खड्काको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएको हो।
सल्यानको बागचौर नगरपालिका–१०, पीपलनेटाका आयुषले गत जेठमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका थिए। पहिलो पोस्टिङ रसुवाको टिमुरेमा पाएपछि उनी नयाँ जिम्मेवारी र भविष्यका ठूला सपनासहित कार्यरत थिए। तर, सरकारी सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै भदौ १० गते आएको भीषण बाढी र पहिरोले उनको जीवन नै खोस्यो।
आयुष स्नातक तहको परीक्षा दिन गृहजिल्ला फर्कने तयारीमा थिए। रसुवाबाट केही दिनपछि सल्यान जाने योजना बनाएका उनी घर फर्कनुअघि नै बाढीमा परेका थिए। बाढीमा बेपत्ता भएको पाँच दिनपछि उनको शव चितवनमा फेला परेको थियो। परिवारले भदौ १४ गते शव पहिचान गरेपछि मृत्यु भएको पुष्टि भएको हो। शव बिग्रिएको अवस्थामा भेटिएकाले सल्यानसम्म लैजान कठिन भएपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
आयुष परिवारका जेठा छोरा थिए। सरकारी सेवामा प्रवेश गरेपछि अझै ठूलो लक्ष्य राखेका उनी खरिदार पदमै सीमित नरहेर अधिकृत बन्ने तयारीमा रहेको आफन्तले बताएका छन्। स्नातक तहको परीक्षा दिएपछि त्यसै दिशामा अघि बढ्ने उनको योजना थियो। तर, भोटेकोशीको बाढीले उनको सपना र परिवारको खुसी दुवै एकैपटक बगाइदियो।
आयुष बाढीमा परेको खबर पाएपछि उनकी आमा मुना बेहोस भएकी थिइन्। देवघाटमा छोराको अन्त्येष्टि भइरहँदा पनि परिवार शोकमा डुबेको थियो। आफन्तहरूले आमा र बहिनीलाई सम्हाल्दै अन्तिम संस्कारमा सहभागी गराएका थिए।
भोटेकोशी बाढीले आयुषको ज्यान मात्रै लिएन, सल्यानका धेरै परिवारलाई समेत गहिरो शोकमा पारेको छ। बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका सल्यानका दर्जनौँ नागरिक अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन्।
जिल्ला प्रहरी तथा स्थानीय तहबाट संकलित विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका सल्यानका ६० जनामध्ये ५५ जना अझै सम्पर्कविहीन छन्। दुई जना घाइते अवस्थामा सम्पर्कमा आएका छन् भने तीन जना परिवारको सम्पर्कमा पुगेका छन्। उनीहरू सल्यानका विभिन्न स्थानीय तहबाट रोजगारी तथा कामको सिलसिलामा रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा पुगेका थिए।
बनगाड कुपिण्डे, कुमाख, सिद्धकुमाख, शारदा, त्रिवेणी, बागचौर, कपुरकोट र कालीमाटीका नागरिक बाढीपछि सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। सञ्चार सम्पर्क विच्छेद तथा सडक र पुलमा भएको क्षतिका कारण परिवारहरू आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन कठिनाइमा छन्।
बाढीबाट सबैभन्दा बढी प्रभावितमध्ये बनगाड कुपिण्डे नगरपालिका–६ का नागरिक रहेका छन्। उक्त क्षेत्रका एउटै परिवारका सदस्यसमेत बाढीपछि बेपत्ता भएका छन्। केही व्यक्ति भने साथी वा आफन्तको फोनमार्फत घाइते अवस्थामा सम्पर्कमा आएका छन्।
यस्तै, कुमाख गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, बागचौर नगरपालिका, कपुरकोट र कालीमाटी क्षेत्रका नागरिकको अवस्था अझै अज्ञात रहेको स्थानीय प्रशासनले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पालिकाले पहल गरिरहेका छन्।
आयुषको मृत्यु र दर्जनौँ सल्यानवासी अझै सम्पर्कविहीन भएपछि जिल्लाका परिवारमा चिन्ता र शोक थपिएको छ। एकातिर बाढीमा बेपत्ता आफन्तको खोजीमा परिवारहरू दिनरात पर्खिरहेका छन् भने अर्कोतिर आयुषजस्ता युवाको असामयिक मृत्युले सल्यानलाई नै स्तब्ध बनाएको छ।