काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेटमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कप्तान सन्दीप लामिछानेले उक्त जित नेपालका बाढीपीडितप्रति समर्पित गरेका छन्।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि अर्जुन कुमालले ५८ बलमा ५ चौकासहित अविजित ३६ रन बनाए। रोहितकुमार पौडेल १४ बलमा १९ रन बनाएर नटआउट रहे। उनले एक चौका र एक छक्का प्रहार गरे। आसिफ शेखले १८ तथा देव खनालले १० रन बनाए। इशान पाण्डे भने १ रनमै रनआउट भए।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो।
कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा केवल १४ रन खर्चेर ५ विकेट लिए। उनले चार ओभर मेडनसमेत राखे। उत्कृष्ट प्रदर्शनका लागि सन्दीप प्लेयर अफ द म्याच घोषित भए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। बहराइनका फैज अहमदले सर्वाधिक १५ रन बनाए।
जितपछि सन्दीपले सामाजिक सञ्जालमार्फत यो जित अहिले कठिन परिस्थितिबाट गुज्रिरहेका नेपाली जनताप्रति समर्पित गरेको बताएका छन्।
‘यो जित मेरो देश नेपालका सुन्दर जनताका लागि हो, जो अहिले कठिन समयबाट गुज्रिरहेका छन्,’ सन्दीपले भनेका छन्। उनले नेपाल र नेपालीलाई प्रार्थनामा सम्झन आग्रह गर्दै मैदानमा आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्ने बताएका छन्।
नेपालले प्रतियोगिताको दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ। त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिता जित्ने टोली सन् २०२७ को एसिया कपका लागि छनोट हुनेछ।