काठमाडौं । तिब्बत हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनेहरूको संख्या बढेर ४ हजार २४७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन सम्पर्कविहीन हुनेको संख्या १ हजार ७४५ जना थपिएको हो। आइतबार रातिसम्म सम्पर्कविहीनको संख्या २ हजार ५०२ थियो।
प्राधिकरणकी प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार रसुवा र नुवाकोटबाट नयाँ विवरण ठूलो संख्यामा प्राप्त भएपछि सम्पर्कविहीनको कुल संख्या ह्वात्तै बढेको देखिएको हो।

प्राधिकरणका अनुसार नुवाकोटबाट मात्रै सोमबारसम्म १ हजार ५५८ जना सम्पर्कविहीन छन्। रसुवाबाट सम्पर्कविहीन हुनेको संख्या ८६५ पुगेको छ। आइतबार रातिसम्म नुवाकोटबाट ११५ र रसुवाबाट ५६२ जना सम्पर्कविहीन रहेको विवरण थियो।
यसरी दुई जिल्लाबाट मात्रै एक दिनमा सम्पर्कविहीनको संख्या १ हजार ७४६ जना थपिएको छ। ‘दुई जिल्लाबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या बढेपछि कुल संख्या पनि बढेको हो,’ प्रवक्ता महतले भनिन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका परिवार तथा आफन्तले विपद्का कारण प्रशासनलाई ढिला गरी जानकारी गराएका कारण पनि एकै दिनमा सम्पर्कविहीनको संख्या बढेको हो।
प्राधिकरणले सार्वजनिक गर्ने सम्पर्कविहीनको तथ्यांकमा पहिचान हुन बाँकी मृतकसमेत समावेश हुन सक्ने जनाएको छ।
प्रवक्ता महतका अनुसार शव फेला परे पनि पहिचान नभएसम्म सम्बन्धित व्यक्तिलाई बेपत्ताकै सूचीमा राखिन्छ।
‘पहिचान नभएसम्म उनीहरूलाई बेपत्ताकै सूचीमा राखिन्छ। अहिले फेला पारिएका धेरै शव पहिचान भएका छैनन्। त्यसकारण सम्पर्कविहीनको संख्यामा मृतकको संख्या गाभिने सम्भावना पनि बढी हुन्छ,’ उनले भनिन्।
उनका अनुसार सम्बन्धित निकायले पत्रसहित पठाएका तथा आधिकारिक रूपमा दर्ता भएका विवरणलाई मात्र तथ्यांकमा समावेश गरिन्छ। मौखिक सूचनाका आधारमा तथ्यांक राखिँदैन।
सरकारी निकायबाट प्राप्त विवरणसमेत सम्पर्कविहीनको सूचीमा समावेश गरिने प्राधिकरणले जनाएको छ। एउटै व्यक्तिको विवरण दोहोरिन नदिन सम्बन्धित निकायबाट प्राप्त विवरण रुजू तथा भेरिफाइ गर्ने काम भइरहेको छ।
प्राधिकरणका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डिओसी) ले विपद्का समयमा सम्पर्कविहीन तथा अन्य क्षतिको विवरण संकलन गर्छ।
डिओसीले संकलन गरेको विवरण केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनइओसी) मा पठाउने र त्यसलाई भेरिफाइ गरेपछि प्राधिकरणले सार्वजनिक गर्ने गरेको छ।
प्रवक्ता महतले रसुवाको माथिल्लो तटीय क्षेत्रमा रहेका विभिन्न कार्यालयबाट आएका विवरण र जिल्ला डिओसीले पठाएको विवरणसमेत समावेश हुने भएकाले तथ्यांकमा फरक पर्न सक्ने बताइन्।
उनका अनुसार सम्पर्कविहीन भएका व्यक्तिका आफन्तलाई सम्बन्धित जिल्लाको डिओसीमा निवेदन दिन आग्रह गरिएको छ।
प्राधिकरणले आम नागरिकले समेत सम्पर्कविहीन तथा अन्य विवरण दर्ता गर्न सक्ने गरी ‘सेतु एप’ निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
एपमार्फत व्यक्तिले आफ्ना आफन्त सम्पर्कविहीन भएको विवरण दर्ता गर्न तथा सम्बन्धित विवरण हेर्न सक्ने व्यवस्था गरिने बताइएको छ।
तर एउटै व्यक्तिका धेरै आफन्तले छुट्टाछुट्टै विवरण दर्ता गर्न सक्ने भएकाले सम्पर्कविहीनको तथ्यांकलाई तत्कालै अन्तिम मान्न नसकिने प्राधिकरणको भनाइ छ।
‘अहिले एउटै व्यक्तिका धेरै आफन्तले विवरण हालेको हुन सक्ने भएकाले मिसिङको केसमा चाहिँ अझै भेरिफाइड र अपडेटेड डेटा दिन कोसिस गरिरहेका छौं,’ महतले भनिन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जिल्लामा बाढीबाट ठूलो क्षति भएकाले सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने बताएका छन्।
‘यहाँ धेरै क्षति छ। यकिन विवरण संकलन गर्न पनि गाह्रो छ। हामीले विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘त्योभन्दा धेरै आउन बाँकी छ।’ रसुवा प्रशासनले जिल्लाभित्र सम्पर्कविहीन भएकाहरूको छुट्टै विवरण संकलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।