विज्ञको सुझाव–भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिऔँ

1.2k Shares

काठमाडौँ । रसुवाको लामटाङ लिरुङ क्षेत्रमा पहाड चोइटिएर आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। उनीहरूले घटनाले हिमाली क्षेत्र जलवायु परिवर्तनका कारण कति संवेदनशील र जोखिमपूर्ण बन्दै गएको छ भन्ने स्पष्ट पारेको बताएका छन्।

हिमाल तथा हिमनदीका अध्येता प्राध्यापक डा. दिवस श्रेष्ठले भोटेकोशी बाढीले मानव सभ्यतालाई नै चुनौती दिने गरी ठूलो क्षति गरेको बताउनुभयो। उहाँका अनुसार हिमाली क्षेत्रमा भएको यस किसिमको विपत्तिले हिमाली भूभाग अत्यन्त संवेदनशील र जोखिमयुक्त रहेको पाठ सिकाएको छ।

हिउँविज्ञ प्राध्यापक डा. सुदीप ठकुरीले बाढीपछि देखिएको विनाश र क्षतिको स्तर हेर्दा यसलाई ‘हिमाली सुनामी’ भन्नुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनको असर हिमालमा कुन हदसम्म परेको छ भन्ने कुरा विश्व समुदायलाई बुझाउन पनि यो घटनालाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने धारणा राख्नुभयो।

हिउँ वैज्ञानिक डा. नितेश खड्काले भने यस घटनालाई ‘हिमाली प्रलय’को संज्ञा दिनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार बढ्दो तापक्रमले हिमालमा पारेको असरबारे यसअघि भएका वैज्ञानिक अध्ययनको प्रमाणका रूपमा पनि यो घटना देखिएको छ।

विज्ञहरूले नेपालले विकसित मुलुकसँग जलवायु वित्त र नयाँ प्रविधि हस्तान्तरणका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्। कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनबाट सिर्जित विपत्तिको ठूलो असर नेपालले भोगिरहेको उनीहरूको भनाइ छ।

डा. ठकुरीले हिमाललाई अहिलेसम्म नेपालको सम्पत्तिका रूपमा हेर्ने गरिएको भए पनि पछिल्लो घटनाले हिमाललाई सम्भावित ‘विनाशको बम’का रूपमा समेत बुझ्नुपर्ने अवस्था देखाएको बताउनुभएको छ।

विज्ञहरूले भोटेकोशी बाढीलाई विश्व समुदायसमक्ष जलवायु परिवर्तन र हिमाली जोखिमको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरी अन्तर्राष्ट्रिय सहयोग र प्रविधि जुटाउन नेपालले कूटनीतिक पहल तीव्र पार्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार