काठमाडौँ । सडक क्षेत्राधिकारभित्रका रुख काटेर हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध संयुक्त रूपमा ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
त्यस्तै, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ बिगो मागदाबी गरिएको छ। राप्ती गाउँपालिका–१ का वडाध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपैयाँ तथा वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आयोगले अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपैयाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९७० रुपैयाँ, झविन्द्रप्रसाद भण्डारीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ र केशरबहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपैयाँ बिगो मागदाबी गरेको छ।
आयोगका अनुसार राप्ती गाउँपालिका–१ पाखापानीदेखि लमही नगरपालिका–४ अनंहवासम्म पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ सडक क्षेत्राधिकारभित्र रहेका सिमल, सिसौलगायत विभिन्न जातका रुख काटी हानिनोक्सानी पुर्याइएको थियो।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजाय तथा जरिवानाको मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।