काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत सयौँ कामदार तथा प्राविधिक बेपत्ता भएका छन्।
बाढीबाट प्रभावित ११ वटा जलविद्युत् परियोजनाबाट हालसम्म ३६१ जनाको उद्धार भए पनि ८९७ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका विद्युत्गृह, बाँध, सुरुङ तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ। कतिपय आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा कामदार फसेपछि उनीहरूको खोज तथा उद्धार चुनौतीपूर्ण बनेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७६ जना हराइरहेका छन्। तीमध्ये करिब ३०० जना सुरुङभित्रै फसेको अनुमान गरिएको छ। सुरक्षित स्थानमा रहेका २५४ जनाको भने उद्धार भइसकेको छ।
डाँगीले हराइरहेकाहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। विदेशी प्राविधिकसहित नेपाली सुरक्षाकर्मीको टोली विभिन्न आयोजनामा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना अझै हराइरहेका छन्। उनीहरूको खोजीका लागि आवश्यक उपकरणसहित टोली परिचालन गरिएको छ।
आयोजनाका भूमिगत संरचनामा फसेका ६ जनामध्ये ४ जना दुई दिन लगाएर आफैँ बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ। अन्य केही कर्मचारीले समेत सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका छन्।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट यसअघि १९ जनाको उद्धार भइसकेको छ। तर सुरुङभित्र फसेका ४१ जनाको अवस्था अझै अज्ञात छ।
उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली उपकरणसहित आयोजनास्थल पुगेको छ। सेनाले खोजी कार्य जारी राखे पनि हालसम्म सफलता हात पर्न सकेको छैन।
६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार टोली सुरुङको पोर्टलसम्म पुग्न सफल भएको छ। उद्धारकर्मी सुरुङभित्र प्रवेश गर्न मिल्ने गरी ड्रिल गरिएको भाग ठूलो बनाउने काम भइरहेको छ।
केबल टनेल पोर्टल सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ। सुरुङभित्रको अवस्थाबारे जानकारी लिन क्यामेरासहित उद्धारकर्मी पठाउने तयारीसमेत भइरहेको छ।
उद्धार टोलीले पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित कार्यस्थलसम्म पुग्ने लक्ष्य राखेको छ। यस आयोजनाबाट ४२ जना हराइरहेका छन्।
२२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको विद्युत्गृहमा फसेकाहरूको उद्धार अझै हुन सकेको छैन। उद्धारमा भारतीय प्राविधिकसहितको टोली पनि सहभागी छ।
उद्धार कार्य भइरहेका बेला पुनः आएको बाढीले बाँध क्षेत्रका संरचनामा थप क्षति पुर्याएपछि अभियान प्रभावित भएको छ। आयोजनाबाट ८ जना सम्पर्कविहीन छन्।
रसुवास्थित ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनाबाट ७ जना अझै सम्पर्कविहीन छन्। तत्काल उद्धारका लागि पहल गरिए पनि उनीहरूको खोजीमा अपेक्षित प्रगति हुन सकेको छैन।
३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र चीनबाट आएका प्राविधिक टोली परिचालन भएका छन्। तर हालसम्म उद्धारमा सफलता मिल्न सकेको छैन।
यस आयोजनाबाट १२२ जना हराइरहेका छन्।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ बाहेक त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना, देवीघाट जलविद्युत् आयोजनाबाट एक जना तथा निर्माणाधीन मिडल त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन रहेको विवरण छ।
भोटेकोसी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् संरचनामा ठूलो क्षति पुर्याएपछि विद्युत् उत्पादन तथा निर्माण गतिविधि प्रभावित भएको छ। निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनामा भएको क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी अभियानपछि मात्रै यकिन हुने बताइएको छ।
इप्पानका अध्यक्ष डाँगीले अहिले क्षतिको मूल्याङ्कनभन्दा हराइरहेका व्यक्तिको खोजी र उद्धारलाई प्राथमिकता दिइएको बताएका छन्। विदेशी प्राविधिक तथा सुरक्षा निकायको सहयोगमा सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास जारी रहेको छ।