काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदैछ। १० टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ।
नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्।
नेपालले भदौ १५ मा बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि भदौ १८ मा आयोजक मलेसिया, भदौ २१ मा साउदी अरेबिया र भदौ २३ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। यसपटक उपाधि विजेता टोलीले मात्र २०२७ को एसिया कपमा स्थान बनाउनेछ।
नेपाल पहिलो संस्करणको प्रिमियर कपको विजेता हो। सन् २०२३ मा यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो। यसपटक पनि सोही सफलता दोहोर्याउने लक्ष्य नेपाली टोलीको छ।
पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीले नेपाललाई उपाधिको बलियो दाबेदारका रूपमा हेरेका छन्। उनका अनुसार प्रतियोगिताअघि भारतमा गरिएको प्रशिक्षण र मलेसियामा भएको अभ्यास खेलले नेपाली टोलीलाई फाइदा पुग्नेछ। उनले ओमान र यूएईलाई नेपालको मुख्य प्रतिस्पर्धी मानेका छन्।