काठमाडौँ । रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने तयारीमा जुटेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालका अनुसार त्रिशूली–३ ‘ए’ मा सुरुङतर्फ ड्रिलिङको काम सकिएको छ। अब केही समयमा उद्धारकर्मी सुरुङभित्र प्रवेश गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
ढकालले आफूहरू घटनास्थलमै रहेको बताउँदै सुरुङभित्र फसेका मानिसको उद्धारका लागि प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार गुल्मीका केही मानिससमेत सुरुङभित्र फसेको खबर आएको छ।
‘उद्धार कार्य निकै चुनौतीपूर्ण छ। सरकारले अहिले आफ्नो सम्पूर्ण शक्ति यसमै केन्द्रित गरेको छ,’ ढकालले बताएका छन्। उनले सुरुङभित्र फसेका तथा उनीहरूका आफन्तलाई नआत्तिन आग्रह गरेका छन्। यसैबीच, गृहमन्त्री सुधन गुरुङको सचिवालयले पनि उद्धार टोली सुरुङभित्र जाने तयारी भइरहेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ।
रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचना तथा पहुँचमार्गमा क्षति पुगेपछि सुरुङभित्र फसेकाको उद्धार चुनौतीपूर्ण बनेको छ। भारत र चीनका विज्ञसहितको उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा परिचालित छ।
उद्धार टोलीले सुरुङसम्म पहुँच पुर्याउन ड्रिलिङलगायतका काम अघि बढाएको थियो। अब सुरुङभित्र प्रवेश गरेर फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिने तथा सम्भव भएसम्म तत्काल बाहिर निकाल्ने तयारी गरिएको छ।