काठमाडौँ । फरेन्सिक विज्ञहरूले जमिनमुनि गाडिएका शव ६ महिनादेखि एक वर्षसम्म सुरक्षित रहन सक्ने बताएका छन्। भोटेकोसी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव चितवनमा गाडिएपछि त्यसबारे प्रश्न उठिरहेका बेला विज्ञहरूले पर्याप्त चिस्यान केन्द्र नभएको अवस्थामा जमिनमुनि शव व्यवस्थापन गर्नु वैज्ञानिक संरक्षणको उपाय भएको बताएका हुन्।
फरेन्सिक विज्ञ प्राडा हरिहर वस्तीका अनुसार जमिनमुनिको तापक्रम कम हुने भएकाले स्थानअनुसार चिसो ठाउँमा गाडिएका शव ६ महिनादेखि एक वर्षसम्म पनि सग्लो अवस्थामा रहन सक्छन्। गर्मी ठाउँमा भने करिब तीनदेखि चार महिनासम्म शव सुरक्षित रहन सक्ने उनले बताएका छन्।
उनका अनुसार शव कम्तीमा डेढ मिटर गहिरो खाल्डोमा गाडिने भएकाले जनावरले खोतल्ने सम्भावना पनि कम हुन्छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक मेडिसिन विभाग प्रमुख प्राडा शिवेन्द्र झाले पनि ठूलो विपद्का बेला पर्याप्त कोल्ड स्टोरेज उपलब्ध नभएमा शवलाई जमिनमुनि राख्नु महत्वपूर्ण वैज्ञानिक संरक्षण विधि भएको बताएका छन्। उनका अनुसार शव धेरै समय खुला राख्दा छिट्टै कुहिने र पहिचान गर्न कठिन हुने भएकाले जमिनमुनि राख्दा पहिचानका लागि आवश्यक समय प्राप्त हुन्छ।
चितवनमा ९६ शव गाडिए
भोटेकोसी बाढीले बगाएर चितवन पुर्याएका मध्ये पहिचान हुन नसकेका ९६ शव शनिबार साँझसम्म देवघाटको जंगलमा गाडिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शव राख्ने चिस्यान केन्द्रको अभाव तथा सडेर महामारीको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
चितवनमा शनिबारसम्म २५९ शव फेला परेकोमा नौ जनाको मात्रै आफन्तले पहिचान गरी बुझेका थिए। बाँकी शवको पहिचान हुन नसकेपछि प्रशासनले वैज्ञानिक विधिअनुसार व्यवस्थापन गरेको हो।
डीएनए नमुना र संकेत नम्बर सुरक्षित
पहिचान नभएका शव गाड्नुअघि डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको प्रशासनले जनाएको छ। प्रत्येक शवमा नष्ट नहुने किसिमको संकेत नम्बर राखिएको छ। शव गाडिसकेपछि पनि बाहिरी भागमा सोही संकेत नम्बर राखिएकाले भविष्यमा आफन्तको डीएनए मिलेको अवस्थामा शव पहिचान गर्न सहज हुनेछ।
पहिचान नभएका शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शवको शरीरको आकृति, लुगा, गरगहना, ट्याटु, खत तथा अन्य विशेष चिन्हबाट प्रारम्भिक पहिचान गरिन्छ। त्यसबाट पहिचान हुन नसकेमा हस्तरेखा, औँठाछाप, दाँत, फरेन्सिक रेडियोलोजी, फरेन्सिक एन्थ्रोपोलोजी, डीएनए परीक्षण तथा आइरिस स्क्यानजस्ता विधि प्रयोग गर्न सकिन्छ।
विपद्मा मृत्यु भएकाको शव व्यवस्थापन गर्नुअघि पहिचानका लागि आवश्यक नमुना संकलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था पनि निर्देशिकामा रहेको छ। पछि आफन्त पहिचान भएमा उनीहरूले शव जिम्मा लिन चाहेमा हस्तान्तरण गर्न सकिने व्यवस्था छ।
शवसँग भेटिएका कपडा, गहना, नगद, परिचयपत्र तथा अन्य सामग्रीलाई समेत छुट्टै नम्बर दिएर सुरक्षित राखिने र शवको मुखाकृति तथा पहिचान खुल्ने संकेतसहित डिजिटल फोटो अभिलेख राखिने व्यवस्था रहेको छ।