काठमाडौं — बाढीपहिरोबाट प्रभावित नेपालका लागि चीनले पठाएको करिब ५० टन राहत सामग्री बोकेका चिनियाँ वायुसेनाका दुई वटा वाई–२० विमान काठमाडौं आइपुगेका छन् । चीनले आपत्कालीन राहत सामग्रीसँगै प्राविधिक विज्ञ टोलीसमेत नेपाल पठाएको हो ।
चिनियाँ पक्षका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले ती सामग्री पठाइएको हो । राहत सामग्रीमा प्रभावित नागरिकका लागि आवश्यक आपत्कालीन सामग्री तथा उद्धार कार्यमा उपयोग हुने उपकरणहरू रहेका छन् ।
चीनले राहत सामग्रीसँगै सुरुङ तथा प्राविधिक उद्धारमा विशेषज्ञता भएका विज्ञहरू समेत नेपाल पठाएको जनाएको छ । उनीहरूले नेपाली उद्धार टोलीसँग समन्वय गरी बाढीबाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्नेछन् ।
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । पछिल्लो सरकारी विवरणअनुसार बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४९८ जना अझै बेपत्ता छन् ।
यसअघि भारतले पनि राहत सामग्रीसहित आफ्ना सैन्य विमान नेपाल पठाउँदै आएको छ । भारतबाट हालसम्म ६८.५ टन राहत सामग्री काठमाडौं ल्याइएको तथा उद्धारका लागि प्राविधिक टोली र पुल निर्माणसम्बन्धी उपकरणसमेत नेपाल पठाइएको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनाको पुनःस्थापना र प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिरहेको छ ।