भोटेकोशी बाढी राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा

1.1k Shares

काठमाडौं । भोटेकोशी बाढीमा फसेकाहरूको उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन शाहका अनुसार उक्त रकम ९ वटा वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री राहत कोषका खातामा जम्मा भएको हो ।यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग रकम जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।

विपद्को समयमा प्राप्त सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापन सुनिश्चित गर्न सरकारले सार्वजनिक गरेको आधिकारिक माध्यमबाट मात्रै आर्थिक सहयोग गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन् ।

उनले सरकारी ‘क्युआरकोड’ तथा खाताको नाम ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’ मा मात्र सहयोग रकम जम्मा गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले सम्भावित वित्तीय ठगीबाट जोगिन पनि आग्रह गरेका छन् । ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआरकोड र खाताको नाममा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ उनले भनेका छन् ।

भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट सरकारलाई आर्थिक तथा भौतिक सहयोग प्राप्त भइरहेको छ ।

सम्बन्धित समाचार