माथिल्लो त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाको उद्धार गर्न चिनियाँ विज्ञ टोली परिचालन

1.5k Shares

काठमाडौँ । रसुवामा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारको अनुमति लिएर चिनियाँ विज्ञ टोली उद्धार कार्यमा खटिएको हो। टोली चिनियाँ हेलिकोप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा पुगेको जनाइएको छ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको सुरुङ उद्धारलाई प्रभावकारी बनाउन चिनियाँ विशेषज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय र सहकार्य गरी सुरुङभित्रको अवस्थाबारे प्राविधिक रेकी (अनुगमन) गर्नेछ। सुरुङको अवस्था, फसेका व्यक्तिसम्म पुग्ने सम्भावना तथा उद्धारका लागि आवश्यक प्राविधिक उपायबारे संयुक्त टोलीले अध्ययन गर्नेछ।

प्रारम्भिक प्राविधिक रेकीपछि सुरुङभित्र उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा स्ट्यान्डबाई अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा बोलाइने तयारी गरिएको छ।

सरकारले नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँगै विदेशी विशेषज्ञको सहयोग लिएर सुरुङभित्र फसेकाहरूको उद्धारलाई तीव्रता दिने प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार