नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, बर्दियामा घट्यो-चितवनमा सबैभन्दा धेरै,

1.2k Shares

काठमाडौँ । नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। सरकारले बुधबार विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक गरेको राष्ट्रिय बाघ सर्वेक्षणको नतिजाअनुसार पछिल्लो चार वर्षमा नेपालमा ७४ वटा बाघ थपिएका हुन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बुधबार आयोजित विशेष कार्यक्रममा बाघको नयाँ संख्या सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ पाइने पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा करिब ६ महिना लगाएर सर्वेक्षण गरेको थियो।

Tiger-survey-photo-2.jpg

सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा बाघ रेकर्ड भएका थिए। यसपटक यो संख्या बढेर ४२९ पुगेको हो। सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा सबैभन्दा धेरै १४५ वटा बाघ भेटिएका छन्। त्यस्तै पर्सामा ७१, बाँकेमा ५१, शुक्लाफाँटामा ५० र बर्दियामा ११२ वटा बाघ रेकर्ड भएका छन्।

tiger.jpeg

तर, बर्दियामा भने अघिल्लो गणनाको तुलनामा बाघको संख्या घटेको छ। सन् २०२२ मा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासमा १२५ वटा बाघ रहेकामा यसपटक ११२ वटा मात्रै रेकर्ड भएका हुन्। यसपटक पर्सामा ३०, बाँकेमा २६, चितवनमा १७ र शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। बर्दियामा भने १३ वटा बाघ घटेको सर्वेक्षणले देखाएको छ।

घट्यो बाघको वृद्धिदर

नेपालमा बाघको संख्या बढे पनि बाघको वृद्धिदर भने अघिल्लो गणनाको तुलनामा घटेको छ। सन् २०१८ देखि २०२२ सम्म नेपालमा बाघको संख्या झन्डै ५१ प्रतिशतले बढेको थियो। तर, पछिल्लो चार वर्षमा वृद्धिदर २१ प्रतिशतमा सीमित भएको छ।

बाघको संख्या बढ्न आहारा प्रजातिको उपलब्धता, उपयुक्त बासस्थान तथा चोरीसिकार नियन्त्रण मुख्य कारण मानिन्छ। पछिल्लो सर्वेक्षणले संरक्षणका प्रयास सकारात्मक रहे पनि बाघको संख्या बढेसँगै चुनौतीसमेत थपिँदै गएको देखाएको छ।

मानव–वन्यजन्तु द्वन्द्व घटाउन चुनौती

विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले नेपालमा बाघको संख्या बढ्नु सकारात्मक उपलब्धि भए पनि त्यससँगै आउने चुनौतीप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो।

उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकार एक्लैले सम्भव नहुने भन्दै यसका लागि सबै सरोकारवालाको सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बाघ र मानवबीचको सहअस्तित्व कायम गर्न आगामी दिनमा सरकारले ठोस योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनले बाघ संरक्षण र यसबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुलाई २९ लाई विश्व बाघ दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

सम्बन्धित समाचार