काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका सात बैंकका शाखामा कार्यरत २७ कर्मचारी अझै सम्पर्कविहीन छन्। बुधबार बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि ती कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। उनीहरूलाई सम्पर्कमा ल्याउन बैंकिङ क्षेत्रबाट सम्भव प्रयास भइरहेको उनले बताए।
सम्पर्कविहीन हुनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात, माछापुच्छ्रे बैंकका पाँच, सानिमा बैंकका दुई, लक्ष्मी सनराइज बैंकका तीन, हिमालयन बैंकका एक, एनएमबी बैंकका चार र प्रभु बैंकका पाँच कर्मचारी रहेका छन्।
बाढीका कारण विभिन्न बैंकका नौ शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको बैंकर्स एसोसिएसनले जनाएको छ। टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका शाखामा ठूलो क्षति पुगेको बताइएको छ।
बैंकका शाखा कार्यालयमा भएको भौतिक क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन। शाखामा लकर तथा भल्ट रहे–नरहेको, भल्टमा कति रकम थियो र कति क्षति भयो भन्ने विवरणसमेत तत्काल यकिन गर्न नसकिएको कोइरालाले बताएका छन्।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्कसमेत अवरुद्ध रहेकाले सम्पर्कविहीन कर्मचारीको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ। उद्धार तथा खोजी कार्यसँगै उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास जारी रहेको जनाइएको छ।