बाढीपहिरोले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा आवागमन बन्द
799
Shares
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् भने केही मार्गमा निश्चित समयका लागि सवारी आवागमन रोकिएको छ।
काठमाडौँमा नागढुंगादेखि मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्णरूपमा बन्द गरिएको छ। प्रहरीले उक्त सडकखण्डमा तत्काल सवारी आवागमन नगर्न आग्रह गरेको छ।
कोशी प्रदेशअन्तर्गत इलाममा पहिरोका कारण मेची राजमार्गको इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो।
बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोले सडक यातायात प्रभावित पारेको छ। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण निश्चित समयसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरमा हेटौँडा–भीमफेदी–बागमती–ललितपुर सडकखण्ड तथा कान्तिलोकपथमा समेत रातिको समयमा सवारी आवागमन रोकिएको छ। वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढेपछि सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो।
यसैगरी, रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध छ। रसुवाको मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
धादिङमा बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलालगायतका क्षेत्रमा बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। यस्तै, चितवनमा मुग्लिन–नारायणगढ सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा जुनसुकै बेला पहिरो खस्ने, बाढी आउने तथा सडक भासिन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरेको छ।
साथै, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा सवारीसाधन रोकिराख्दा वा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।