नुवाकोटको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री शाहले भने– ‘अवस्था अझै चुनौतीपूर्ण छ

1.7k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटको अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन्। बिहीबार नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावितलाई राहत तथा सुरक्षित बसोबास उपलब्ध गराउन केन्द्रित रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको जानकारी दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको बताए।

उनका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्।

सरकारले हवाई तथा स्थलमार्गबाट उद्धारलाई निरन्तरता दिएको छ। बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको प्रधानमन्त्रीले बताए। उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।

रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। तत्कालका लागि करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।

प्रभावित जिल्लामा राहतका लागि रकम परिचालन

प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायत राहत सामग्री बोकेका १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकोप्टरमार्फत समेत पुर्‍याउने काम भइरहेको छ।

प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आधारभूत सेवा उपलब्ध गराइएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थासमेत उद्धार र राहतमा परिचालित छन्। रेडक्रसले मात्रै करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको प्रधानमन्त्रीले जानकारी दिए।

अस्पताललाई तयारी अवस्थामा राखियो

विपद्को अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

वीर अस्पताल र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ।

प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। ट्रमा सेन्टर, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आवश्यक औषधि तथा उपकरणसहित मेडिकल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई पनि तयारी अवस्थामा राखिएको छ।

राहत सामग्री वितरणका लागि तीन स्थानमा भण्डारण

राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणालीलाई व्यवस्थित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ।

जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनरीलगायत अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइँदैछ। विपद् व्यवस्थापनका लागि प्रयोग हुने फिल्ड अस्पताल सेटसमेत त्रिशूलीतर्फ पठाइएको छ।

७० भन्दा बढी दूरसञ्चार साइट प्रभावित

बाढी तथा पहिरोका कारण दूरसञ्चार सेवा प्रभावित भएपछि पुनःस्थापनालाई आपत्कालीन प्राथमिकता दिइएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्।

प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर सेवा पुनःस्थापनाको काम भइरहेको छ। प्रभावित नागरिकलाई तत्काल सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल उपलब्ध गराएको छ। एनसेलले पनि निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको छ।

सडक, पुल र विद्युत् पुनःस्थापनामा जोड

बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चार संरचनाको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिको मूल्यांकन तथा पुनःस्थापनाको काम तीव्र बनाउन निर्देशन दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपीजीडब्लू तथा विद्युत् संरचना पुनःस्थापनाको काम अघि बढाइएको छ। उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुग्ने अत्यावश्यक विद्युत् संरचनालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

इन्धन अभाव हुन नदिने तयारी

प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन पनि सरकारले आवश्यक व्यवस्था गरेको छ। नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ।

त्यसैगरी थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल प्रभावित क्षेत्रमा पठाइएको छ। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको प्रधानमन्त्रीले बताएका छन्।

ड्रोनबाट क्षतिको मूल्यांकन

प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप लक्षित र प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो र अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

संघदेखि स्वयंसेवी संस्थासम्म समन्वय

राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन दिइएको छ।

बाढी तथा पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने र मृतकको पहिचान तथा शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइएको प्रधानमन्त्रीले बताएका छन्।

विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन भइरहेको छ। भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघलगायत अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको छ। निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री शाहले सरकारको अहिलेको मुख्य प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापना रहेको बताएका छन्।

उनले सबै सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको दाबी गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने बताएका छन्।

‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

सम्बन्धित समाचार