बाढी प्रभावित क्षेत्र निरीक्षणपछि काठमाडौं फर्किए बालेन

1.2k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएका छन्।

बिहीबार नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित स्थानीय, पीडित तथा घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए। सरकारी स्रोतका अनुसार नुवाकोट जाने प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम थिएन। अन्तिम समयमा प्रधानमन्त्री आफैंले प्रभावित क्षेत्र पुगेर बाढीपीडितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो।

sunil-lamsal-3-1024x500.jpg

प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने नुवाकोटमै रहेका छन्। मन्त्री लम्साल र उनको टोली नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पुगेको छ।

सेनाले मन्त्री लम्साललाई बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यको प्रगतिबारे जानकारी गराएको छ। त्यस क्रममा मन्त्री लम्सालले शीघ्र प्रतिकार्यलाई प्रभावकारी बनाउँदै उद्धार कार्यलाई थप तीव्रता दिन निर्देशन दिएका छन्।

यसैबीच सञ्चारमन्त्री विक्रम तिमिल्सिना पनि बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरिरहेका छन्।

सम्बन्धित समाचार