भोटेकोशी बाढीपीडितका लागि राहत संकलन गर्न तीन केन्द्र

1k Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकारले राहत सामग्री संकलनका लागि तीन वटा स्थान तोकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। त्यहाँ जम्मा भएको सामग्री सरकारले प्रभावित क्षेत्रको आवश्यकताका आधारमा वितरण गर्नेछ।

त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकलाई पनि राहत सामग्री संकलन केन्द्र तोकिएको छ। यी केन्द्रमा संकलन हुने सामग्री पनि आवश्यकता हेरेर सम्बन्धित प्रभावित क्षेत्रमा पठाइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा अन्य निकायले तोकिएका केन्द्रमै राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

राहत सामग्री बुझाउन सम्पर्क

  • राष्ट्रिय आपतकालीन गोदामघर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: डब्लुएफपी प्रतिनिधि श्रद्धा भट्ट — ९९८४१८७९२२२०
  • मैथिली ब्यारेक, बट्टार, नुवाकोट: नेपाली सेनाका आविष्कार — ९९८५१२३४३२४०
  • नेपाली सेनाको ब्यारेक, बैरेनी, धादिङ: दिलीप घले — ९९८५११५४२२६०

सरकारले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन तोकिएका संकलन केन्द्रमार्फत मात्र सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

सम्बन्धित समाचार