भोटेकोशीदेखि नारायणीसम्म बाढीको प्राविधिक विवरण सार्वजनिक, ६ लाख ७९ हजारभन्दा बढी एसएमएसबाट पूर्वसूचना

995 Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबारे बाढी पूर्वानुमान महाशाखाले विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि आएको आकस्मिक बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको देखाएको छ।

बाढीका कारण नदीको बहाव मापन गर्ने चार वटा स्वचालित जलमापन केन्द्र पूर्ण रूपमा ध्वस्त भएका छन्। रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्र पुलसहित बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ।

प्राविधिक आँकलनअनुसार देवघाट जलमापन केन्द्रबाट मात्रै बाढीको अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको थियो। जलमापन केन्द्रहरू नै बगेपछि प्रभावित क्षेत्रमा प्रत्यक्ष जलसतहको तथ्यांक संकलन गर्न कठिन भएको महाशाखाले जनाएको छ।

भूकम्पपछि भोटेकोशीमा प्रवेश गरेको थियो बाढी

प्रतिवेदनअनुसार १० भदौ बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको महाशाखाले जनाएको छ।

बिहान ९ बजे बाढीबारे सूचना प्राप्त भएपछि ९ः१५ बजेदेखि नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीमा सतर्कता सन्देश पठाउन थालिएको थियो।

नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रमा ६ लाख ७९ हजार २९५ वटा पूर्वसूचना एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।

महाशाखाका अनुसार समयमै पठाइएको पूर्वसूचनाका कारण धेरै नागरिक सम्भावित जोखिमबाट जोगिन सफल भएका थिए।

करिब ६ घण्टामा देवघाट पुग्यो बाढी

प्रतिवेदनले बाढीको बहाव विभिन्न स्थानमा पुगेको समयसमेत उल्लेख गरेको छ।

  • बिहान ९ः०० बजे: भोटेकोशीमा बाढी प्रवेश
  • बिहान १०ः२८ बजे: धादिङको गल्छी आसपास
  • बिहान ११ः५० बजे: मलेखु बजार आसपास
  • दिउँसो १ः०० बजे: मुग्लिन पार
  • दिउँसो ३ः२० बजे: नारायणी हुँदै देवघाट क्षेत्रमा प्रवेश
  • दिउँसो ४ः०० बजे: देवघाटमा जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा
  • साँझ ६ः३० बजे: जलसतह करिब ४ मिटरमा झरेको

देवघाटमा दिउँसो ४ बजे जलसतह उच्चतम बिन्दुमा पुगेपछि क्रमशः घट्न थालेको प्रतिवेदनमा उल्लेख छ।

नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण

बाढी पूर्वानुमान महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा अति उच्च, उच्च र मध्यम जोखिम क्षेत्रमा विभाजन गरेको छ।

महाशाखाले सम्भावित बाढी तथा अन्य जलजन्य विपद्बाट सुरक्षित रहन नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता आकस्मिक बाढीको जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने आवश्यकता पनि प्रतिवेदनले औँल्याएको छ।

सम्बन्धित समाचार