काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट चीनको तिब्बतस्थित ग्यिरोङ क्षेत्रमा पनि ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार घटनामा ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बेपत्ता हुनेमध्ये २६० जना विदेशी नागरिकसमेत रहेका छन्। घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।
प्रभावित क्षेत्रमा चिनियाँ जनमुक्ति सेना, सशस्त्र प्रहरी तथा अन्य आपत्कालीन उद्धार टोली परिचालन भएका छन्। उद्धारकर्मीले जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्नुका साथै बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएका छन्।
बाढी तथा पहिरोले ग्यिरोङ क्षेत्रको सडक, संरचना र सीमावर्ती बस्तीहरूमा समेत ठूलो क्षति पुर्याएको बताइएको छ। चिनियाँ अधिकारीहरूले सम्भावित थप विपत्तिलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।
घटनाबाट भएको क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।