भोटेकोसी बाढीले विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाट प्रणालीबाट बाहिरियो

2.4k Shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।

ऊर्जा मन्त्रालयका अनुसार बाढी प्रभावित विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । उनीहरूको खोज तथा उद्धार कार्य जारी छ ।

बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, साञ्जेनका विभिन्न आयोजना, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजनामा क्षति पुगेको छ ।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।

१९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

बाढीका कारण रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ को पावरहाउस मर्मतमा संलग्न ४५ जना, त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना तथा धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जनालगायत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।

रसुवामा विद्युत् आपूर्ति पूर्ण अवरुद्ध

बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ ।

धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ । त्रिशूलीस्थित २२० केभी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने चिलिमे २२० केभी हब टावरमा समेत समस्या आएको छ ।

बाढीका कारण समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन् । विभिन्न स्थानका प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।

विद्युत् पुनःस्थापनाको प्रयास

विद्युत् संरचनामा पुगेको क्षतिको मर्मत तथा सेवा पुनःस्थापनाका लागि विभिन्न टोली परिचालन गरिएको छ । फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने तथा सम्पर्कविहीन कर्मचारीको खोजी कार्यसमेत जारी छ ।

वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सञ्चालन गर्न सकिने स्थान पहिचान गरी सेवा आंशिक रूपमा सुचारु गर्ने प्रयास भइरहेको छ । समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघोडा सबस्टेसन चालु गर्ने तथा गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार