भोटेकोसी बाढीबारे छलफल गर्न बिहीबार सर्वदलीय बैठक बस्ने

1.6k Shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बस्न लागेको हो। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ। त्यसैगरी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

बाढीबाट भएको ठूलो क्षतिपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका निकायसँगै राजनीतिक दलहरूबीच पनि समन्वय आवश्यक देखिएको छ।

सम्बन्धित समाचार