काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सरकारले एक्लो नछाड्ने प्रतिबद्धता जनाउँदै कठिन घडीमा सिंगो देश पीडितको साथमा रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। घाइतेको उपचारका लागि स्वास्थ्यकर्मी तथा मेडिकल टोली पनि प्रभावित क्षेत्रमा खटाइएको छ भने हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्र बनाइएको छ।
उनले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखिएको र प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन्। मन्त्रिपरिषद्ले पनि बाढी प्रभावितको निःशुल्क उपचार, उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिने निर्णय गरेको छ।
बाढीका कारण क्षति पुगेका सडक, पुल, विद्युत्, सञ्चार तथा खानेपानी सेवा पुनःसञ्चालनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत उपलब्ध गराउने तयारी पनि सरकारले अघि बढाएको छ।
प्रधानमन्त्रीले बाढीबाट बेपत्ता भएकाहरूको खोजी कार्यलाई निरन्तरता दिइने र प्रभावित नागरिकको उद्धार तथा राहतमा सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिने बताएका छन्।
‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।