बाढीपछि स्वास्थ्य मन्त्रालयको तयारी तीव्र, वीर अस्पतालदेखि ट्रमा सेन्टरसम्म ‘स्ट्यान्डबाइ’

2.1k Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ। बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले रसुवा र आसपासका स्वास्थ्य संस्थामा घाइतेको प्राथमिक उपचार, ट्रायज तथा आवश्यक परे तत्काल रेफर गर्ने व्यवस्था मिलाएको छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई काठमाडौंका ठूला अस्पतालमा पठाउने गरी विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको जानकारी पाएलगत्तै बिहानैदेखि मन्त्रालय सतर्क अवस्थामा रहेको थियो। प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर समेत सक्रिय पारिएको छ।

‘बिहानदेखि काममा जुटिसकेका छौं। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,’ डा. अधिकारीले भने।

उनका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा बिरामीको अवस्था छुट्याएर उपचारको प्राथमिकता निर्धारण गर्ने ट्रायज प्रणाली लागू गरिनेछ। सामान्य घाइतेको स्थानीयस्तरमै उपचार गर्ने तथा गम्भीर घाइतेलाई माथिल्लो तहका अस्पतालमा तत्काल रेफर गर्ने व्यवस्था मिलाइएको छ।

मन्त्रालयले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको छ। प्रभावित क्षेत्रबाट रेफर भएर काठमाडौं आउने बिरामीको व्यवस्थापन यी प्रमुख अस्पतालमार्फत गर्ने तयारी गरिएको हो।

त्यस्तै, त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीयस्तरमा उपचार सम्भव भए त्यहीँ उपचार गर्ने र थप उपचार आवश्यक भए तत्काल माथिल्लो तहको अस्पतालमा पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

डा. अधिकारीका अनुसार विपद्का यस्ता घटनाका लागि स्वास्थ्य संस्थाहरूमा पहिले नै विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजना तयार गरिएको हुन्छ। अहिले सोही योजनाअनुसार स्वास्थ्य सेवा व्यवस्थापन प्रणाली सक्रिय पारिएको हो।

‘यस्ता विपद्का घटनाका लागि पहिले नै बनेका कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् कार्ययोजना हुन्छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभएमा हब अस्पतालमा रेफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली अहिले सक्रिय गरिएको छ,’ उनले भने।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं ल्याइएका व्यक्तिको यकिन संख्या भने तत्काल उपलब्ध हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले प्रभावित तथा घाइतेको विवरण संकलन र अद्यावधिक गरिरहेको जनाएको छ।

प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म काठमाडौं आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक भइसकेको छैन। थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिनेछ।

‘अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अध्यावधिक भइसकेको छैन। विवरण आएपछि बेलुकासम्म अपडेट गर्छौं,’ उनले भने।

यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ। स्वास्थ्य मन्त्रालयले सम्भावित घाइतेको तत्काल उपचार सुनिश्चित गर्न स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्य संस्था र काठमाडौंका प्रमुख अस्पतालबीच समन्वय बढाएको छ।

सम्बन्धित समाचार