स्याफ्रुबेँसीदेखि टिमुरेसम्म सम्पर्कविहीन, धेरै नागरिक उद्धारको पर्खाइमा

1.4k Shares

काठमाडौं । तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको भोटेकोशी नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचना बगाएको प्रारम्भिक जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

बाढीका कारण रसुवाका विभिन्न स्थानीय तह प्रभावित भएका छन्। विशेषगरी भोटेकोशी आसपासका क्षेत्रमा ठूलो क्षति भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका धेरै नागरिक सम्पर्कविहीन भएका छन् भने केही स्थानीय उद्धारको पर्खाइमा रहेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार स्याफ्रुबेँसी बजारदेखि टिमुरेसम्मको क्षेत्रमा कसैसँग पनि सम्पर्क हुन सकेको छैन। बाढीले उक्त क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हुनसक्ने भए पनि स्थलगत रूपमा पुग्न नसक्दा वास्तविक अवस्था थाहा पाउन कठिन भएको उनले बताए।

उनका अनुसार अहिले आफूहरू रसुवा सदरमुकाम धुन्चेमा छन्। बाढीले तल्लो क्षेत्रमा कति क्षति गर्‍यो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

‘हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौं। तल के कति क्षति गरेको हो, केही पनि थाहा हुन सकेको छैन। स्याफ्रुबेँसी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन। हामी जान पनि सकेका छैनौं,’ वडाध्यक्ष वाइबाले भने।

उनका अनुसार नेपाली सेनाको हेलिकप्टर बाढी प्रभावित क्षेत्रतर्फ गएको छ। हेलिकप्टर फर्किएपछि मात्रै त्यहाँको वास्तविक अवस्था र क्षतिको विवरणबारे केही जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

स्याफ्रुबेँसी बजारसम्म बाढी पुगेको भन्ने जानकारी आए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको वडाध्यक्ष वाइबाले बताए। बाढीपछि स्थानीयसँग सम्पर्क विच्छेद हुनुको कारण पनि स्पष्ट हुन सकेको छैन।

‘तल भएकाहरू के कति कारणले सम्पर्कविहीन भएका हुन्, थाहा छैन। टेलिफोन टावर गएर सम्पर्कविहीन भएका हुन् कि अरू कुनै समस्या छ, यसै भन्न सकिने अवस्था छैन,’ उनले भने।

बाढीका कारण सञ्चार संरचनामा क्षति पुगेको हुनसक्ने आशंका गरिएको छ। सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेकाले उद्धार टोली प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको छ।

वडाध्यक्ष वाइबाका अनुसार अब उद्धारकर्मी प्रभावित क्षेत्रमा पुगेपछि मात्रै मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण बाहिर आउनेछ। ‘अब उद्धारकर्मीहरू आएपछि थप थाहा होला,’ उनले भने।

यसैबीच, नेपाली सेना तथा अन्य सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धार अभियान अघि बढाएका छन्। सेनाले मेडिकल टिमसहित हेलिकप्टर परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ।

रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै नुवाकोट र धादिङतर्फ समेत पुगेकाले नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार