त्रिशूली बजारमा भोटेकोशीको भीषण बाढी, मध्यपहाडी राजमार्गको पुलसमेत बगायो

1.3k Shares

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। तिब्बततर्फबाट आएको बाढीले त्रिशूली बजार क्षेत्रसमेत बगाएको स्थानीयले बताएका छन्।

बाढीका कारण त्रिशूली बजार क्षेत्रमा आवतजावत पूर्णरूपमा प्रभावित भएको छ। स्थानीय मच्छिद्रनरसिंह प्याकुरेलका अनुसार बाढीले बजार क्षेत्र कटान गर्दै बगाएपछि आवागमन ठप्प भएको हो।

बाढीको प्रभाव मध्यपहाडी राजमार्गमा समेत परेको छ। त्रिशूली खण्डमा रहेको पुल बाढीले बगाएपछि सडक सम्पर्कसमेत प्रभावित भएको छ। यसले नुवाकोटका विभिन्न क्षेत्रबीचको यातायात आवागमनमा थप समस्या सिर्जना गरेको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका नदी आसपासका क्षेत्रमा ठूलो जोखिम देखिएको छ। बाढीले त्रिशूली बजारसहित देवीघाट क्षेत्रसमेत प्रभावित भएको जनाइएको छ।

अचानक आएको बाढीका कारण स्थानीयमा त्रास फैलिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ। बाढीबाट मानवीय क्षति भए–नभएको तथा थप संरचनामा पुगेको क्षतिको विवरण आउन बाँकी छ।

बाढीसम्बन्धी घटनापछि उद्धार तथा विपद् व्यवस्थापनका लागि राज्यका सम्बन्धित निकायहरू सक्रिय भएका छन्। यसैबीच प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्। बाढीका कारण सडक, पुल तथा बजार क्षेत्र प्रभावित भएकाले तत्काल उद्धार, राहत र यातायात सञ्चालनका लागि सम्बन्धित निकायले समन्वय गर्नुपर्ने अवस्था देखिएको छ।

सम्बन्धित समाचार