रसुवा । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर रसुवा पठाएको छ।
लगातारको वर्षा र नदीमा आएको बाढीका कारण जोखिम बढेपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा आवश्यक परे तत्काल उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको हो।
नेपाली सेनाका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, घाइतेलाई आवश्यक स्थानमा स्थानान्तरण तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याइने जनाइएको छ।
बाढीका कारण रसुवाका विभिन्न नदी तथा खोला आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।