ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

1.8k Shares

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार अपराह्न पार्किङ गरी राखिएको ट्रक अगाडि बढाउने क्रममा उनलाई ठक्कर लागेको थियो।

गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले चलाएको लु१ख ८९०७ नम्बरको ट्रकले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा विकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि सुरुमा गुल्मी अस्पताल तम्घास लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही राति बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो।

उपचारकै क्रममा मंगलबार राति विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार