काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
मुस्लिम समुदायले मोहम्मदलाई आफ्नो धर्मका प्रमुख सन्देष्टाका रूपमा मान्ने गर्छन्। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी मदिना पुगेका थिए।
मोहम्मद जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो अर्थात् हिजरी संवत् सुरु भएको मानिन्छ। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।
मुस्लिम समुदायका अनुसार मोहम्मदले उपदेश दिने क्रममा कुरान अवतरित भएको विश्वास गरिन्छ। त्यसपछि मक्का–मदिना इस्लाम धर्मावलम्बीका प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ।
इस्लाम धर्ममा मोहम्मदले पुर्याएको योगदान र उनका उपदेशलाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा बुधबार र्याली, सभा तथा धार्मिक कार्यक्रम हुँदैछन्।
काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। पैगम्बर मोहम्मदको जन्मजयन्तीलाई मुस्लिम समुदायले धार्मिक तथा सामाजिक रूपमा महत्वपूर्ण दिनका रूपमा मनाउने गर्छ।