रालिङ (हुम्ला)। हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति आगलागी हुँदा महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको छ।
राति करिब २ बजे आगलागी भएको हो। आगलागी भएको थाहा पाएपछि स्थानीयवासी र नजिकैको प्रहरी चौकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय नरवीर थापाले जानकारी दिनुभयो। भवनमा गाउँपालिकाका केही कर्मचारीसमेत बस्दै आएका थिए।
आगलागीबाट अत्यावश्यक कागजात राखिएको जिन्सी शाखा पूर्ण रूपमा जलेर नष्ट भएको गाउँपालिका प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीले बताउनुभयो। उहाँका अनुसार लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांश श्रेष्ता तथा कागजातसमेत जलेर नष्ट भएका छन्।
आगलागीको कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन। प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने सार्कीले बताउनुभयो। स्थानीयका अनुसार जिन्सी शाखामा राखिएका ब्याट्री पड्किँदा आगलागी थप फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। कार्यालयमा जडान गरिएको सिसिटिभीको फुटेजसमेत अध्ययन गरेर घटनाको कारण पत्ता लगाइने उहाँले बताउनुभयो।
आगलागीबाट गाउँपालिकामा जडान गरिएको विद्युत्को वायरिङ तथा बल्बहरू पनि जलेका छन्। प्रशासनिक भवनको तल्लो तलामा जिन्सी शाखालगायतका शाखा तथा माथिल्लो तलामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष रहेका थिए।
गत वर्ष मात्रै उद्घाटन गरिएको उक्त भवन जिल्लाकै नमुना भवनका रूपमा रहेको थियो। भवन निर्माण हुनुअघि गाउँपालिकाको कार्यालय अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो। रातिको समयमा अचानक आगलागी भएकाले समयमै थाहा नहुँदा भवन र भित्र रहेका सामग्रीमा ठूलो क्षति पुगेको स्थानीयको भनाइ छ।
घटनाबाट भएको कुल क्षतिको विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।