बारामा गोली लागेर घाइते किशोरलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

834 Shares

काठमाडौं । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा गोली लागेर घाइते भएका किशोरलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

फेटा गाउँपालिका–३ का १८ वर्षीय आदित्य पासवानलाई शनिबार भएको झडपका क्रममा गोली लागेको थियो । उनलाई सुरुमा वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । शल्यक्रियामार्फत गोली निकालिएपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको थियो ।

 

अस्पताल उद्घाटनको विषयमा विवाद हुँदा झडप

फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीय दुई समूहबीच विवाद भएको थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी पक्षले अस्पताल उद्घाटन गर्न खोजेपछि पूर्वजनप्रतिनिधिसहितका केही स्थानीयले विरोध गरेका थिए । उद्घाटन कार्यक्रमका क्रममा विवाद बढ्दै गएपछि स्वास्थ्य केन्द्र परिसरमा तोडफोडसमेत भएको थियो ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय किशोर पासवान घाइते भएका थिए ।

 

गोली चलाउने प्रहरीबारे छानबिन सुरु

घटनापछि गोली कसले र कसको आदेशमा चलायो भन्ने विषयमा स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनाका क्रममा गोली चलाउनुअघि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी गराइएको थिएन । प्रहरीबाट हवाई फायर गरिएको भनिए पनि गोली लागेर किशोर घाइते भएपछि घटनालाई गम्भीर रूपमा लिइएको प्रशासनले जनाएको छ ।

 

झडपमा प्रहरी पनि घाइते, मोटरसाइकलमा आगजनी

झडपका क्रममा ढुंगामुढा हुँदा केही प्रहरी घाइते भएका छन् । घटनापछि आक्रोशित समूहले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेको जनाइएको छ ।

घटनापछि फेटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान तथा स्थिति नियन्त्रणका लागि आवश्यक कदम अघि बढाएको छ ।

सम्बन्धित समाचार