पुराना अपराधीलाई पनि उन्मुक्ति हुँदैन, प्रहरीको स्मृतिमा सबै घटना सुरक्षित छन् : आईजीपी

1.3k Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनामा संलग्न व्यक्तिलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउन सकिने बताएका छन्। उनले अपराधका घटना प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने भएकाले समय बित्दैमा अपराधीले उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन्।

राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्दै आईजीपी कार्कीले व्यक्तिको स्मरण छोटो समयमै हराउन सक्ने भए पनि प्रहरी संगठनले आपराधिक घटनालाई बिर्सन नहुने बताए। दशकौँ पुराना घटनामा समेत अनुसन्धान अघि बढाएर दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको उनले उल्लेख गरे।

उनका अनुसार पुराना घटनाको अध्ययन तथा निरन्तर अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने काम भइरहेको छ। चर्चित तथा गम्भीर प्रकृतिका पुराना घटनाका लागि विशेष टोली गठन गरेर अनुसन्धान भइरहेको र त्यसबाट केही घटनामा सफलता पनि प्राप्त भएको उनले जानकारी दिए।

आईजीपी कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पुराना जघन्य अपराधको अनुसन्धान भइरहेको बताए। नयाँ र पुराना दुवै प्रकृतिका मुद्दालाई समानान्तर रूपमा अनुसन्धानमा अघि बढाइएको उनको भनाइ छ।

उनले विगतका घटनामा चाहेजति सफलता प्राप्त हुन नसकेको स्वीकारसमेत गरे। तर अनुसन्धान निरन्तर अघि बढाइरहेकाले पुराना अपराधमा संलग्न व्यक्तिले कानुनी कारबाहीबाट बच्न नसक्ने उनको भनाइ थियो।

प्रविधिजन्य अपराध बढ्दो

आईजीपी कार्कीले बदलिँदो समाज, प्रविधि र कार्यशैलीसँगै प्रहरीसामु नयाँ खालका सुरक्षा चुनौती थपिएको बताए। परम्परागत अनुसन्धान पद्धतिले मात्रै आधुनिक अपराध नियन्त्रण गर्न कठिन हुने भन्दै उनले प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

उनका अनुसार प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई थप व्यवस्थित बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको छ। कामका आधारमा मूल्याङ्कन हुने प्रणालीले कर्मचारीलाई आफ्नो कार्यसम्पादन सुधार्ने अवसरसमेत दिने उनले बताए।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने क्रममा नागरिकले प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता कम गर्न प्रणाली विकास भइरहेको पनि उनले जानकारी दिए। घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था विस्तार हुँदै गएको उनको भनाइ छ।

आर्थिक अपराधमा पनि चुनौती

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढिरहेको उल्लेख गर्दै कार्कीले त्यस्ता अपराध अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति विकास र परिचालन गर्नुपर्ने बताए।

उनले अपराधको सञ्जाल अन्तरदेशीय बन्दै गएकाले नेपाल प्रहरीले विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय गरिरहेको जानकारी दिए। आधुनिक प्रहरी सेवाका अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्दै अनुसन्धान क्षमतालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उनले बताए।

प्रविधिको प्रयोगमार्फत हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास व्यक्त गर्दै आईजीपी कार्कीले प्रहरीलाई नागरिकको सबैभन्दा नजिकको राज्य संयन्त्रका रूपमा शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षामा केन्द्रित गरिने बताए।

उनले आपराधिक गतिविधिमा संलग्न वा आपराधिक प्रवृत्ति भएका व्यक्तिबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न आम नागरिकसँग आग्रहसमेत गरेका छन्।

सम्बन्धित समाचार