बारा । बाराको कलैया उपमहानगरपालिकाबाट शनिबार साँझदेखि बेपत्ता भएकी दुई वर्षीया बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्।
कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट बेपत्ता भएकी बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्।
स्थानीय महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नो घरमा लगेर हेरचाह गरेकी थिइन्। त्यसपछि प्रहरीको समन्वयमा बालिकालाई उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बिन्दी मुकेश मण्डलकी छोरी हुन्। बालिका शनिबार साँझदेखि सम्पर्कविहीन भएपछि परिवारले उनको खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमान्डमा सुरक्षा निकायले खोजी अभियान सुरु गरेको थियो।
खोजी अभियानमा नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। प्रहरीले तालिमप्राप्त कुकुरसमेत प्रयोग गरी सम्भावित स्थानमा खोजी गरेको जनाएको छ।
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणमा त्रास र चिन्ता बढिरहेका बेला कलैयाबाट दुई वर्षीया बालिका बेपत्ता भएपछि स्थानीयमा थप आशंका र भय पैदा भएको थियो। रातभरको खोजीपछि बालिका सकुशल फेला परेपछि परिवार तथा स्थानीयले राहतको महसुस गरेका छन्।
बालिका कसरी घरबाट टाढा पुगिन् र नालासम्म कसरी पुगिन् भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। बालिका सकुशल भेटिएपछि घटनाको थप विवरणबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।