काठमाडौँ । सहरी क्षेत्रमा सवारीसाधनको सङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा ट्राफिक जाम र वायु प्रदूषण प्रमुख चुनौती बन्दै गएको छ। सडकको क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा यात्रुहरूले दैनिक घन्टौँ जाममा बस्नुपर्ने अवस्था छ भने यसबाट समय र इन्धनको समेत ठूलो क्षति भइरहेको छ।
काठमाडौँ उपत्यकामा दुईदेखि तीन किलोमिटरको दूरी पार गर्नसमेत करिब १० मिनेट जाममा बस्नुपर्ने अवस्था रहेको बताइएको छ। पुराना तथा अत्यधिक सवारीसाधनबाट निस्कने धुवाँले वायु प्रदूषण बढाउनुका साथै सहरी बासिन्दाको स्वास्थ्यमा समेत असर पारिरहेको छ। अनावश्यक रूपमा हर्न बजाउने प्रवृत्तिले ध्वनि प्रदूषणसमेत बढाएको छ।
सरोकारवालाहरूले सडकको लम्बाइ वा चौडाइ थप्दैमा मात्र ट्राफिक समस्या समाधान नहुने भन्दै विद्यमान सडक र विशेषगरी प्रमुख चोकको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर नरेश शाक्यले सवारीसाधनको सङ्ख्या बढेको अनुपातमा सडक विस्तार गर्दै जान सम्भव नहुने भएकाले भएका सडक र चोकलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार चोकमा सवारीसाधन रोकिँदा लामो दूरीसम्म जाम फैलिने भएकाले ‘अन्डरपास’ तथा ‘ओभरपास’ जस्ता संरचनाले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन सक्छन्।
उहाँले काठमाडौँको कलङ्की चोकलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘अन्डरपास’ निर्माणपछि बल्खु–सीतापाइला तथा ढुङ्गेअड्डा–सोल्टीमोड क्षेत्रमा देखिँदै आएको जाममा उल्लेख्य सुधार आएको बताउनुभएको छ।
त्यस्तै, नयाँ बानेश्वर चोकमा पनि विभिन्न दिशाबाट आउने सवारीसाधनलाई एकै तहमा व्यवस्थापन गर्नुपर्दा लामो समय रोक्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। उक्त क्षेत्रमा ‘अन्डरपास’ वा ‘ओभरपास’ निर्माण गर्न सके सवारीसाधन नरोकिई सञ्चालन गर्न सकिने र माइतीघर–तीनकुने तथा शङ्खमूल–मध्यबानेश्वर क्षेत्रमा समेत ट्राफिक व्यवस्थापन सहज हुने उहाँले बताउनुभएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले ट्राफिक जाम र वायु प्रदूषण नियन्त्रणका लागि निजी सवारीसाधनको सङ्ख्या घटाउँदै सार्वजनिक यातायातलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा निजी सवारीसाधनको सङ्ख्या करिब २३ लाख पुगिसकेको छ। निजी सवारीसाधनको खरिद तथा दर्तामा नियन्त्रण नगरे आगामी दिनमा जामको समस्या अझ विकराल बन्न सक्ने उहाँको भनाइ छ। विशेषगरी दुईपाङ्ग्रे निजी सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायातविज्ञ इन्जिनियर आशिष गजुरेलले अन्य मुलुकको तुलनामा नेपालमा सवारीसाधनका लागि सडक पूर्वाधार पर्याप्त रहेको बताउनुभएको छ। तर अधिकांश सवारीसाधन सीमित ठूला सहरमा केन्द्रित हुँदा ती क्षेत्रमा अत्यधिक चाप र जाम देखिएको उहाँको भनाइ छ।
नेपालमा हाल करिब ५८ लाख सवारीसाधन दर्ता भएका छन् भने एक लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल सञ्चालनमा रहेको बताइएको छ। काठमाडौँ उपत्यकामा मात्रै सडकमा करिब १५ लाख सवारीसाधन गुड्ने गरेको उहाँले जानकारी दिनुभएको छ।
देशका सबै क्षेत्रमा सवारीसाधन समान रूपमा वितरण हुन सके केही ठूला सहरमा देखिएको चाप घट्न सक्ने उहाँको धारणा छ। यद्यपि जनघनत्व बढी भएका क्षेत्रमा स्वाभाविक रूपमा सवारीसाधनको चाप पनि बढी हुने भएकाले व्यवस्थित सहरी यातायात आवश्यक रहेको उहाँले बताउनुभएको छ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार पारेको ‘काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक क्षेत्रलाई ‘कार फ्री जोन’ बनाउने प्रस्ताव गरिएको छ।
योजनाअनुसार काठमाडौँको वसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई ‘कार फ्री जोन’ बनाउने प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार यी क्षेत्रमा निजी सवारीसाधनको प्रवेश नियन्त्रण गर्न सके ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।
यसैगरी विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनमार्फत जोड्ने योजनासमेत अघि सारिएको छ। काठमाडौँमा करिब ५८ किलोमिटर सडकमा छुट्टै साइकल लेन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
सहरी क्षेत्रमा बढ्दो सवारी चाप, वायु प्रदूषण र जाम नियन्त्रणका लागि सडक विस्तारसँगै चोकको वैज्ञानिक सुधार, सार्वजनिक यातायातको प्रवर्द्धन, निजी सवारीसाधनको व्यवस्थापन तथा पैदल र साइकलमैत्री पूर्वाधार निर्माणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने देखिएको छ।