काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुबासँग गृहमन्त्रालयमा भइरहेको छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी भएकी छन् ।
गृहमन्त्री सुधन गुरुङसहित गृह मन्त्रालयको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरिरहेका बेला कानुनमन्त्री गौतम पनि मन्त्रालय पुगेकी हुन् ।
छलफलमा कृषिमन्त्री गीता चौधरीसमेत सहभागी छन् । गरिमाका परिवारले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र न्यायको माग गर्दै आएका छन् ।
यसअघि आजै दिउँसो गरिमाका बुबा मनोज र आमा मानमती सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन् ।
गरिमाको हत्या प्रकरणलाई लिएर परिवार तथा स्थानीयस्तरमा निरन्तर विरोध र न्यायको माग हुँदै आएको छ । पछिल्लो छलफलमा सरकारका विभिन्न मन्त्रीको सहभागिताले पीडित परिवारका माग सम्बोधन गर्ने विषयमा थप छलफल भइरहेको देखिएको छ।