दाङका वन क्षेत्रमा हतियार खोजी, ३७ नाल भरुवा बन्दुक बरामद

1.1k Shares

दाङ । दाङका विभिन्न सामुदायिक वन क्षेत्रमा प्रहरीले खोजतलासका क्रममा ३७ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सामुदायिक वन क्षेत्रमा अवैध रूपमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक खोजी गर्ने क्रममा उक्त हतियार बरामद गरिएको हो। सुरक्षा निकायले विभिन्न स्थानमा विशेष खोज तथा निगरानी अभियान सञ्चालन गर्दै बन्दुकहरू फेला पारेको जनाएको छ।

बरामद गरिएका भरुवा बन्दुक कसले र कुन प्रयोजनका लागि राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनासँग सम्बन्धित व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले अवैध हतियार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा खोज तथा निगरानी अभियानलाई निरन्तरता दिने बताएको छ। साथै, अवैध हतियार वा शंकास्पद गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

सम्बन्धित समाचार