बैंक र जलविद्युत् चम्किँदा होटेल–बीमा क्षेत्र कमजोर

967 Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रका विभिन्न क्षेत्रको वित्तीय अवस्था मिश्रित देखिएको छ । सार्वजनिक भएका अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकिङ र जलविद्युत् क्षेत्रको प्रदर्शन सकारात्मक देखिँदा होटेल तथा पर्यटन र बीमा क्षेत्र भने अपेक्षाअनुसार सुधार हुन सकेनन्।

गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाको नाफा बढेको देखिएको छ। २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३२ प्रतिशतले बढी हो। यद्यपि, प्रभु बैंक घाटामा रहँदा केही बैंकको नाफा भने घटेको छ।

यस्तै, १६ वटा विकास बैंकको कुल खुद नाफा ६४ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। फाइनान्स कम्पनी र लघुवित्त संस्थाको औसत खुद नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। ५० वटा लघुवित्त संस्थामध्ये ३९ वटा नाफामा रहँदा ११ वटा भने घाटामा रहेका छन्।

बीमा क्षेत्रमा भने नाफा घटेको छ। १४ वटा जीवन बीमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५२ प्रतिशतले घटेर ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, १४ वटा निर्जीवन बीमा कम्पनीको औसत खुद नाफा ३९.२१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रका सूचीकृत कम्पनीहरूको समग्र नाफामा सुधार देखिए पनि अधिकांश कम्पनीको व्यक्तिगत नाफा वृद्धि भने समान रूपमा हुन सकेको छैन। १७ वटा कम्पनीले कुल ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.१८ प्रतिशतले बढी हो।

होटेल तथा पर्यटन क्षेत्रको अवस्था भने कमजोर देखिएको छ। नेप्सेमा सूचीकृत आठ वटा होटेल तथा पर्यटन कम्पनीको अघिल्लो आर्थिक वर्षमा रहेको १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गत आर्थिक वर्षमा घटेर समग्रमा २५ करोड रुपैयाँ ऋणात्मक पुगेको छ। केही कम्पनीले नाफा बढाए पनि धेरै ठूला होटेल तथा पर्यटन कम्पनीको नाफा नकारात्मक बनेको छ।

समग्रमा, गत आर्थिक वर्षमा बैंकिङ, वित्तीय संस्था तथा केही उत्पादनमूलक कम्पनीको वित्तीय प्रदर्शनमा सुधार देखिए पनि बीमा, होटेल तथा पर्यटन क्षेत्रमा भने चुनौती कायम रहेको देखिएको छ।

 
 
 
सम्बन्धित समाचार