नेपालगन्जबाट पोखराका लागि फेरि सिधा हवाई सेवा

939 Shares

नेपालगन्ज । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गर्ने जनाएको छ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्न थालेपछि रोकिएको उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। नयाँ तालिकाअनुसार नेपालगन्ज–पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान हुनेछ। उडानका लागि अग्रिम टिकट बुकिङसमेत खुला गरिएको जनाइएको छ।

यो हवाई सेवा गत जेठ ५ गतेदेखि स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आउनु र इन्धन खर्च बढ्नुका कारण उडान सञ्चालनमा चुनौती देखिएपछि सेवा रोकिएको थियो। पछिल्लो समय धार्मिक पर्यटक तथा अन्य यात्रुको माग बढ्न थालेपछि पुनः उडान सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ।

नेपालगन्ज–पोखरा सिधा हवाई सेवा सञ्चालनसँगै पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत क्षेत्रका यात्रुलाई पोखरा तथा मुस्ताङसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। साथै, भारतको उत्तर प्रदेशबाट आउने पर्यटकलाई नेपालगन्ज हुँदै पोखरासम्म पुग्न पनि सुविधा हुने पर्यटन व्यवसायीहरूको विश्वास छ।

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उडान पुनः सञ्चालनले पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन्। उनका अनुसार पोखरा क्षेत्रबाट नेपालगन्जस्थित बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहित विभिन्न धार्मिक गन्तव्यमा जाने यात्रुका लागि पनि यात्रा सहज हुनेछ।

स्थानीय पर्यटन व्यवसायीको पहलमा नेपालगन्ज–पोखरा रुटमा पहिलोपटक २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। केही महिनाको अवरोधपछि पुनः उडान सञ्चालन हुन लागेसँगै पर्यटन तथा हवाई यात्राका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार