काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा पनि वर्षा हुन सक्नेछ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ।
आज राति हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि सामान्यतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
लुम्बिनी प्रदेशको तराईका केही स्थानसहित मधेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।