काठमाडौं । नेपाली अल्ट्रा–ट्रेल धावक दावा तामाङले फ्रान्समा आयोजना हुने युटीएमबी वर्ल्ड सिरिज फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। दावाले आगामी अगस्ट २८ मा हुने १०० किलोमिटर दूरीको प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्। उनी मंगलबार फ्रान्स प्रस्थान गरेका छन्। आफ्नो व्यक्तिगत उत्कृष्ट समय सुधार गर्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेको उनले बताएका छन्।
दावा गत वर्ष अस्ट्रेलियामा भएको कोस्की १०० अल्ट्रा–ट्रेल कोसियुस्कोमा १०० किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेपछि युटीएमबी वर्ल्ड सिरिज फाइनलका लागि छनोट भएका हुन्।
युटीएमबी वर्ल्ड सिरिज फाइनलमा विश्वका उत्कृष्ट अल्ट्रा–ट्रेल धावकहरूले प्रतिस्पर्धा गर्नेछन्। यस वर्षको फाइनल अगस्ट २४ देखि ३० सम्म फ्रान्स, इटाली र स्विट्जरल्यान्डमा आयोजना हुँदैछ।
दावाले सहभागिता जनाउने १०० किलोमिटर दौड इटालीबाट सुरु भएर फ्रान्समा पुगेर समाप्त हुनेछ। दावालाई एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा बिदाइ गरेका थिए।