काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा पाँच सदस्यले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
परिषद्का सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।
उनी वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित छन्। उनले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी र नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छन्।
त्यस्तै, उपाध्यक्ष डा. नारायणबहादुर महोत्रा महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन्। उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट क्लिनिकल फिजियोलोजीमा एमडी गरेका छन्। उनी यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी कामसमेत गरिसकेका छन्।