आज पहाडमा भारी वर्षा, तराई–मधेशमा हावाहुरी चल्न सक्ने

1.1k Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।

मौसममा आएको यस्तो परिवर्तनका कारण भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। हावाहुरीको सम्भावना रहेका क्षेत्रमा पनि सावधानी अपनाउनुपर्ने देखिएको छ।

सम्बन्धित समाचार