नेपालमै बन्यो ‘यात्री पीटू’ विद्युतीय स्कुटर

1.2k Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’ को प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन्। काठमाडौंको बूढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर र डिजाइनरको मेहनतको प्रशंसा गरेका हुन्।

उनले नेपालले आफ्नै डिजाइनमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु ऐतिहासिक उपलब्धि भएको बताए। स्कुटरलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक सहयोगका विषयमा सरकारसँग छलफल गर्न पनि उनले कम्पनीलाई आग्रह गरे।

‘यात्री पीटू’ नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसको कठिन पहाडी तथा हिमाली भूभागमा सफल परीक्षणसमेत भइसकेको छ।

सिप्रदी यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्रीलाई स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा र परीक्षणका अनुभवबारे जानकारी गराएका थिए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन विद्युतीय ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने बताए।

कम्पनीका अधिकारीहरूले डीसी चार्जरयुक्त विद्युतीय स्कुटर नेपालमै निर्माण हुनु विश्वकै पहिलो उपलब्धि भएको दाबी गरेका छन्। स्कुटरलाई केही दिनमै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको भए पनि यसको विस्तृत विवरण हाल गोप्य राखिएको छ।

यात्रीका संस्थापक असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए। अहिले उक्त कम्पनी सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको छ। नेपालमै डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको ‘यात्री पीटू’ लाई नेपाली विद्युतीय सवारी उद्योगमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

 
 
सम्बन्धित समाचार