मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीबाट ठूलो रकम संकलन भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटी तथा अन्य आम्दानीबाट मुक्तिनाथ विकास समितिका विभिन्न बैंक खातामा करोडौँ रुपैयाँ मौज्दात रहेको छ ।
गत असार मसान्तसम्म समितिका पाँचवटा बैंक खातामा गरी रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार सबैभन्दा धेरै रकम कृषि विकास बैंकको खातामा रहेको छ ।
कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार मौज्दात रहेको छ । त्यस्तै, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छ्रे बैंकमा रु १७ हजार ५०० मौज्दात रहेको व्यवस्थापक भुसालले जानकारी दिए ।
मुक्तिनाथमा देशका विभिन्न स्थानका साथै भारतलगायत अन्य मुलुकबाट पनि वर्षभरि ठूलो संख्यामा तीर्थयात्री आउने गरेका छन् । भक्तजनले मन्दिरमा श्रद्धापूर्वक भेटी चढाउने भएकाले मुक्तिनाथ विकास समितिको आम्दानीमा भेटीको महत्वपूर्ण योगदान रहेको छ ।
मन्दिरमा संकलन हुने भेटी तथा अन्य आम्दानीलाई बैंक खातामा जम्मा गरी समितिको नाममा सञ्चय गर्ने गरिएको छ । पाँचवटा बैंक खातामा रहेको उक्त रकम मन्दिर तथा तीर्थस्थलको व्यवस्थापन, संरक्षण, पूर्वाधार विकास र अन्य आवश्यक कार्यमा प्रयोग हुँदै आएको समितिले जनाएको छ ।
मुक्तिनाथ धार्मिक तथा पर्यटकीय दृष्टिले नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा रहेको मुक्तिनाथमा हिन्दू तथा बौद्ध धर्मावलम्बीको समान आस्था रहेको छ । यहाँ वर्षभरि ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् ।