भारतीय दूतावासमा उत्साहका साथ मनाइयो स्वतन्त्रता दिवस

1k Shares

भारतको राष्ट्रगान र राष्ट्रिय भावनासँग जोडिएका कार्यक्रम प्रस्तुत गरिएको थियो।

स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई थप नयाँ र उदीयमान क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले दुई देशबीच व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, संस्कृति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य निरन्तर बढिरहेको उल्लेख गरेका छन्।

दूतावासले स्वतन्त्रता दिवसको तयारीका क्रममा काठमाडौंमा ‘विकसित भारत रन’, चित्रकला प्रतियोगिता तथा अन्तर–विद्यालय क्विजलगायतका कार्यक्रम पनि आयोजना गरेको थियो। ‘हर घर तिरंगा’ अभियान र ‘सूर्यपथ तिरंगा रिले’ जस्ता गतिविधिसमेत सञ्चालन गरिएको दूतावासले जनाएको छ।

भारतको विकास सहकार्यअन्तर्गत नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार तथा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन हुँदै आएका छन्। पछिल्लो समय स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नवीकरणीय ऊर्जा, कृषि, स्वास्थ्य, अन्तरिक्ष तथा खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत सहकार्य विस्तार भइरहेको भारतीय पक्षले जनाएको छ।

स्वतन्त्रता दिवसका अवसरमा नेपालमा रहेका भारतीय नागरिक, दूतावासका अधिकारी तथा नेपाली शुभेच्छुकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भारतका राष्ट्रपति तथा प्रधानमन्त्रीका सन्देशसमेत प्रस्तुत गरिएको थियो।

राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय नागरिक तथा नेपाली मित्रहरूलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार