रोल्पामा पहिरोको ताण्डव, थबाङ र सुनछहरी शोकमा

1k Shares

रोल्पाको पूर्वी क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार र बिहीबार गरी दुई दिनमा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको उपचार भइरहेको छ।

थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार गएको पहिरोले बस्ती नै प्रभावित बनाएको थियो। उक्त घटनामा ११ जनाको मृत्यु भएको, दुई जना बेपत्ता रहेको र दुई जना घाइते भएको बताइएको छ। पहिरोले नौ घरसहित १३ वटा संरचनामा क्षति पुर्‍याएको छ। घाइते दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा बिहीबार गएको पहिरोमा चार जनाको मृत्यु भएको छ। लगातारको पहिरोका घटनाले थबाङ र सुनछहरी गाउँपालिकामा शोकको अवस्था सिर्जना भएको छ। स्थानीय जनप्रतिनिधिले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पहिरोका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। बेपत्ता व्यक्तिको खोजी भइरहेको छ भने प्रभावित परिवारलाई आवश्यक सहयोग र राहतको आवश्यकता देखिएको छ। लगातारको वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार