हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

1.6k Shares

हुम्ला। नेपाल–चीन सीमा नाम्खा गाउँपालिका–६ स्थित लाप्चा क्षेत्रबाट भित्र्याइएको ५१ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको छ।

व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको मदिरा सल्ली क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको भेटिएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बरामद मदिरा ५९४ कार्टुन रहेको छ। प्रत्येक कार्टुनमा १२ बोतलका दरले जम्मा ७ हजार १२८ बोतल चिनियाँ मदिरा बरामद गरिएको हो।

त्यसैगरी, सुरक्षाकर्मीले सोही क्रममा १९४ कार्टुन चिनियाँ बियर पनि बरामद गरेका छन्। एउटा कार्टुनमा २४ बोतलका दरले जम्मा ४ हजार ६५६ बोतल बियर बरामद भएको प्रहरीले जनाएको छ।

बरामद मदिरा तथा बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६०० रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो।

व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट चिनियाँ मदिरा भित्र्याइएको सूचना पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो।

सल्ली क्षेत्रमा परिचालित टोलीले बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर बरामद गरेको हो। बरामद सामग्री शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको प्रहरीले जनाएको छ।

 
 
सम्बन्धित समाचार